• साउन ३१, २०७९, मंगलवार Tuesday, 16 August, 2022
centreal college

चिसो र प्रदुषण बढ्दै जाँदा भारतमा कोभीड-१९ का बिरामी बढे


चिसो र प्रदुषण बढ्दै जाँदा भारतमा कोभीड-१९ का बिरामी बढे

 

भारतको राजधानी दिल्लीमा चिसो र वायु प्रदूषण बढेसँगै कोभिड-१९ का बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ।

कार्तिक–२७, २०७७

बुधवार एकैदिन त्यहाँ थप ८,५०० सङ्क्रमित फेला परे जुन अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। साथै त्यहाँ एकैदिन ८५ जनाको ज्यान गएको छ। दिल्लीमा अहिलेसम्म कोरोनाभाइरसका कारण ७,००० मानिसको ज्यान गइसकेको छ। केही महिना मत्थर देखिएको सङ्क्रमण बिस्तारै चुलिन थालेपछि अस्पतालहरूमा चाप बढेको छ र तिनमा आधाभन्दा धेरै शय्या भरिएका छन्।

जनदबाव बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्घीय सरकारलाई सरकारी अस्पतालमा थप शय्याको निम्ति अनुरोध गर्दै पत्र लेखेका छन्।

कुल ८६ लाख सङ्क्रमितका साथ भारत विश्वमै दोस्रो धेरै सङ्क्रमित भएको मुलुक हो। तर सेप्टेम्बरको मध्यदेखि त्यहाँ दैनिक वृद्धि हुने सङ्क्रमितको सङ्ख्यामा कमी आउन थालेको छ।

सङ्क्रमण दर उच्च हुँदा एकैदिन एक लाखको हाराहारीमा सङ्क्रमित फेला पर्ने गरेकोमा केही सातापश्चात् त्यो घटेर दैनिक ३७ हजारमा झरेको थियो।

अहिले औसतमा दिनको ४० देखि ५० हजार थप सङ्क्रमित फेला परिरहेका छन्। बुधवार भारतभरि थप ४८,२०० सङ्क्रमित फेला परेका थिए।

दिल्लीमा चर्को सङ्क्रमण
दिल्लीमा भने अन्य राज्यका तुलनामा पछिल्ला साताहरूमा सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ। त्यहाँ कुल ४५०,००० सङ्क्रमित पुष्टि भइसकेका छन् जसमध्ये ४२,००० सक्रिय सङ्क्रमित छन्।

यो वृद्धि त्यतिखेर भइरहेको छ जतिखेर उत्तरी भारत जाडो यामको सँघारमा पुगेको छ अनि वायु प्रदूषण खतरनाक स्तरमा बढेको छ।

यी दुई कारणले कोरोनाभाइरस नियन्त्रणका प्रयासमा धक्का लाग्ने विज्ञहरूको धारणा छ। साथै यो सप्ताहान्तमा त्यहाँ हिन्दूहरूको दीपावली पर्व पनि आइरहेको छ।

दिल्लीले पर्वको बेला आतसबाजी प्रयोगमा प्रतिबन्ध लगाएको छ र अधिकारीहरूले सामाजिक दूरीको आवश्यकतामा जोड दिइरहेका छन्। तर बजारमा भिडभाड देखिने तस्बिरहरूले त्रसित बनाइरहेको छ।

मेरा दुई वृद्ध बिरामीलाई शय्या भेट्टाउन २० घण्टा कुर्नुपर्‍यो,  दिल्लीस्थित एक चिकित्सक डा। जोयिता बसुले भनिन्। बुधवारसम्म दिल्लीको सार्वजनिक र निजी अस्पतालहरूमा गरि उपलब्ध कुल १६,५७३ शय्यामध्ये ८,६०० शय्या भरिइसकेको सरकारी कोरोना एपले जानकारी दिएको छ।

अझ चिन्ताको विषय के हो भने सघन उपचार कक्षमा शय्याको उपलब्धता झनै कम छ। भेन्टिलेटरसहितको १७६ र भेन्टिलेटर विनाका ३३८ शय्यामात्र उपलब्ध छन्।

सहरका अस्पतालमा महामारी सल्किरहेको चिकित्सकहरूले बताएका छन्। त्यहाँ प्रत्येक मिनेट खाली शय्याहरू भरिन थालेको बताइन्छ।

सरकारी अस्पतालमा हजारौँ शय्या खाली रहेको एपमा उल्लेख छ। तर कम्तीमा २४ निजी अस्पतालमा कुनै खाली शय्या छैन अनि एपमा सूचीकृत ८० निजी अस्पतालमा ५० प्रतिशतभन्दा कम शय्या खाली छन्।

भारतमा खर्च गर्नसक्ने अधिकांश मानिस सरकारी अस्पताल जान रुचाउँदैनन्। त्यहाँको पूर्वाधारको गुणस्तर कमसल भएको ठानिन्छ। भारतले जनस्वास्थ्यमा कुल गार्हस्थ्य उत्पादनको केवल एक प्रतिशत मात्र खर्च गर्ने गर्छ।

मेरा सबै बिरामीहरू निजी अस्पतालमा जान खोज्छन्। तर अवस्था यस्तो छ कि आउने दिनमा जहाँ शय्या भेटिन्छ त्यहीँ जानुपर्ने हुन्छ, डा. बसुले भनिन्।

भारतको सबभन्दा ठूलोमध्येको सरकारी अस्पताल अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज एम्सका निर्देशक डा। रन्दीप गुलेरियाले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै सङ्क्रमण विस्तार हुनुको अर्थ अस्पतालमा भर्ना हुनेहरूको सङ्ख्या पनि बढ्नु भएको बताए।

थप के हो भने वायु प्रदूषण र श्वासनलीमा भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या लिएर इमर्जेन्सीमा आइपुग्नेको सङ्ख्या बढेको छ, उनले एनडीटीभीलाई बताए।बिबिसीबाट

  • प्रकाशित मिति : कात्तिक २७, २०७७, बिहीवार १२:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८