• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

सौराहाको वेदना– धेरै दुखी थोरै खुसी

  • खवरदाता

सौराहाको वेदना– धेरै दुखी थोरै खुसी

कार्तिक–७, २०७७

चितवन । भएका सुविधासम्पन्न कोठा सवै प्याक । आँगनभरी आन्तरिक र वाह्य पर्यटक । टेवल र कुर्चीभरी पाहुना । सवै आ–आफ्नो रुची अनुसारको खानपान सहित मस्त भइरहने पर्यटकलाई आवश्यक पर्ने सवै खालको व्यवस्थापन गर्दा गर्दै पोहोर सालको दसैँमा फुर्सद भन्ने शब्दै नै हुन्थेन चितवन प्यालेस होटल सौराहाका संचालक नगेन्द्र चापागाईलाई । फुर्सद हुन्थेन तर टिकाको दिन केही घण्टा छुट्याएर विजया दशमीको टिका लगाएर गत वर्षको दसैँ वितेको याद अझै ताजै छ ।

सौराहकै होटल द मिराजका संचालक सुरेन्द्र पौडेललाई भएका कोठा भरिएर आएका आन्तरिक पर्यटक फर्काउनु परेको सम्झन्छन् । भन्नछन् ,“सवै होटल भरिएर पाहुनालाई टाँडी नारायणगढका होटलमा पठाउनु परेको थियो ।”

कोरोना र लकडाउनले होटल व्यवसायलाई मात्रै होइन रेष्टुरेण्ट व्यवसायी पनि मारमा छन् । होटल तथा पर्यटकीय गतिविधि खुल्ला भएपछि आन्तरिक पर्यटक वढ्ने आशा गरेपनि त्यो भएन । राप्ती खोलाको आडैमा रेष्टुरेण्ट चलाइरहेका पुरुषोत्तम लामिछानेको व्यस्तता भनेर साध्य थिएन ।

नजिकै बाट गोही, सूर्यअस्त, नदी पारी गैँडाका लगायत वन्यजन्तु हेर्दै मज्जा लिन मिल्ने उक्त रेष्टुरेन्टका अधिकाँश टेवल कुर्ची अहिले खाली खाली छन् । अहिले रेष्टुरेण्ट खोल्नुमा र बन्द गर्नुमा कुनै फरक नरहेको लामिछाने बताउँछन् ।

होटल रेष्टुरेण्ट सँगै पर्यटकीय गतिविधिमा संलग्न गराउने टिकट बुकिङ काउन्टरहरु पनि खोल्न मात्रै भएको छ । फाट्टफुट्ट वाहेक कोही पनि टिकट काट्न नआएको होटल थारु महलका जयराम महतोले बताए । हात्ती, जीप, निकुञ्ज प्रवेश सहित ढुँगा सयरका लागि व्यवस्थापन गर्दै आएको उनको टिकट काउण्टर अहिले कुरेर बस्नु मात्रै परेको छ ।

तर अहिले विगतलाई सम्झीएर वर्तमान काट्नु व्यवसायीहरुको वाध्यता वनेको छ । लकडाउन र कोभिड १९ ले लामो समय थलिएको सौराहा असोज देखि खुलेको सन्देश व्यवसायीहरुले दिएपनि करिव ५ प्रतिशत मात्रै पर्यटकहरु सौराहा पुग्ने गरेका छन् । करिव ११० वटा होटलहरु रहेको सौराहामा कुनै कुनै होटलमा मात्रै आन्तरिक केही पर्यटक पुग्ने गरेका छन् । गत वर्ष घटस्थापना सुरु हुनासाथ चितवनका पत्रकार केपी शर्मालाई पाहुनाहरुले फोन गरी होटल वुकिङ गर्न आग्रह गर्दथे तर आज फूलपाती सम्म कुनै पनि फोन नआएको उनि बताउँछन् । अहिले सौराहा खुलेपनि पर्यटक नहुँदा सुनसान छ ।

व्यसायिक पक्ष सुनसान भएपनि वर्षौँ देखि हतारमा दसैँ मनाएका उनीहरु यस पटक भने फुर्सदमा दसैँ मनाउदैछन् । व्यवसाय राम्रो लयमा नआएपनि समय दिएर दसैँ मनाउन पदाउँदा उनीहरु धेरै दुखी भएपनि थोरै खुसी मिलेको छ । केही योजना सहित सवै परिवारका सदस्य मिलेर राम्रो सँग दसैँ मनाउने तयारीमा उनीहरु रहेका छन् ।

पर्यटक नआउँदा दुखि भएका व्यवसायी र होटलका कर्मचारी फुर्सदमा रहेर दसैँ मान्न पाउँदा भने धेरै खुसी छन् । कयौँ वर्ष परिवारलाई पर्याप्त समय दिन नसकेर खल्लो भएको दसैँ यस पटक भने राम्रो योजना बनाएर मान्ने तरखरमा रहेका छन् । होटलका कर्मचारी रेशम तामाङ । गत वर्ष टिका लगाउन मात्रै केही घण्टा विदा निकालेका उनि यस पटक पुरै दिन विताउने गरी दसैँ मनाउँदै छन् ।

सेप्टेम्वर अक्टोवर सुरु पर्यटक भरिन सुरु हुने उक्त ठाउँमा नोभेम्वर डिसेम्वर, जनावरी, फ्रवुअरी पीक सिजन हुन् । तर अव २०२१ अन्त्यतिर अलिअलि सुधार आउन सक्ने आशामा रहदै दसैँ मनाउने छन् । युरोप आफैमा थला परेकाले त्यहाँका नागरिक नेपाल घुम्न आउलान भन्ने अपेक्षा नभएका व्यवसायी दसैँ पछि आन्तरिक पर्यटक वढाउन सरकारसँग माग गरेका छन् ।

  • प्रकाशित मिति : कात्तिक ७, २०७७, शुक्रवार १२:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८