आश्विन–२५, २०७७
लगातार दोस्रो खेलमा प्रतिस्पर्धात्मक जित हात पारे पछि कलकत्ता नाइट राइडर्स आइपिएलको अङ्क तालीकामा तेस्रो स्थानमा रहेको छ । कलकत्ताको जितसँगै छैटौँ पराजयको सामना गरेको किङ्स पन्जाब ११ सङ्कटमा परेको छ । आइतबार भएको खेलमा कलकत्ताले पन्जाबलाई २ रनले हरायो भने अर्को खेलमा रोयल च्यालेन्जर बैंगलोरले चेन्नाइ सुपर किङलाई ३७ रनले हरायो ।
कलकत्ताले छाडेको १६५ रनको लक्ष्य पछ्याएको पन्जाबले ५ विकेटको क्षतीमा १६२ रन बनायो । मायंक अग्रवाल र कप्तान लोकेश राहुलले १४.१ ओभरमा पहिलो विकेटका लागि ११५ रनको साझेदारी गर्दासम्म पन्जाबको जित निश्चित देखिएको थियो । १५ औं ओभरको दोस्रो बलमा प्रसिद्ध कृष्णले अग्रवाललाई ५६ रनमा आउट गरे ।
पन्जाबका लागि २३ बलमा २१ रन आवश्यक रहेको समयमा १० बलमा १६ रन बनाएका निकोलास पूरणलाई सुनिल नारायणले बोल्ड गरे । १९ औं ओभरको अन्तिम तिन बलमा कृष्णले प्रब्सीम्रन सिंह र राहुललाई आउट गरे । अन्तिम ओभरमा पन्जाबलाई १४ रन चाहिए पनि सुनिल नारायणले ११ रनमा रोके । अन्तिम बलमा छक्का प्रहार गरे सुपर ओभर पुग्ने खेलमा ग्लेन म्याक्सवेलको प्रहार सीमा रेखाको एक इन्च भित्र खसेर चौका भएको थियो ।
पारीको दोस्रो ओभरमा कृष्णलाई छक्का प्रहार गर्न खोज्दा बल आन्द्रे रसेलको नजिकै भए पनि क्याच लिन सकेनन् । रसेलले फुत्काएको सो बल चौका मात्र भएन, बल रोक्न खोज्दा घाइते भएका उनी फेरी मैदानमा आएनन् । जसका कारण कलकत्तालाई डेथ ओभरमा बलिङको समस्या समेत देखिएको थियो । यस अघिको खेलमा रसेलले डेथ ओभरमा बलिङ गर्ने गरेको थिए । राहुलले ५८ बलमा ७४ रन जोडे ।
पहिलो खेल खेलिरहेका कृष्णले चार ओभरमा २९ रन खर्चिँदै तिन विकेट लिए । कमलेस नगर कोटि भने महँगो साबित हुँदै तिन ओभरमा ४० रन खर्चे ।
यस अघि टस जितेर ब्याटिङ गरेको कलकत्ताले खराब सुरुवात गर्दै पहिलो १० ओभरमा ६० रन मात्र जाडेको थियो । राहुल त्रिपाठी तेस्रो ओभरमा ४ रन मात्र बनाएको अवस्थामा मोहम्मद सामीले बोल्ड गरेका थिए । नितिस राना रन आउट भए पछि कलकत्ताले १४ रनमा नै दोस्रो विकेट गुमाएको थियो । इयान मोर्गानले पनि २३ बलमा २४ रन मात्र बनाएको खेलमा कप्तान दिनेश कार्त्तितकले २९ बलमा ५८ रन जोडे । उनी म्यान अफ द म्याच समेत घोषित भए । पन्जाबका आर्सदीप सिंह फेरी प्रभावकारी देखिँदै चार ओभरमा २५ रन खर्चेर रसेलको विकेट लिए । उनको स्पेल सुपर ओभरमा रहेको थियो ।
अर्को खेलमा भने चेन्नाइ सुरुवात देखिनै खराब अवस्थामा देखियो । १७० रनको लक्ष्य पछ्याएको चेन्नाइले ८ विकेट गुमाउँदै १३२ रनमा सीमित भयो । अम्बाती रायडुले ४० बलमा ४२ तथा नारायण जगदीसनले २८ बलमा ३३ रन जोडे । बैंगलोरका लागि पहिलो खेल खेलिरहेका क्रीस मोरिसले ४ ओभरमा १९ रन खर्चेर तिन विकेट लिए । वासिंटघन सुन्दरले ३ ओभरमा १६ रन खर्चेर दुई विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंैगलोरले पनि धिमा सुरुवात गरेको थियो । कप्तान विराट कोहलीले ५२ बलमा ९० रन जोडे पछि ४ विकेटको क्षतीमा १६९ रन बनाएको थियो । कोहली उनी म्यान अफ द म्याच घोषित भए ।
शनिवारको खेल पछि कलकत्ता ८ अङ्क सहित तेस्रो,बंैगलोर ८ अङ्क सहित चौथो, चेन्नाइ ४ अङ्क सहित छैटौँ तथा पन्जाब २ अङ्क सहित सातौँ स्थानमा छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८