• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सत्याग्रहीप्रति छलछामको रबैया

  • खवरदाता

सत्याग्रहीप्रति छलछामको रबैया

आश्विन–२४,२०७७

काठमाडौँ । सरकार र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच शुक्रबार मध्यराति भएको वार्ता पनि बिनानिष्कर्ष टुंगिएको छ  । २६ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदै गएका बेला वार्तामा छलछाम गरेर सरकारले सत्याग्रहीमाथि अमानवीय व्यवहार देखाएको डा. केसीतर्फका वार्ता टोली संयोजक डा.जीवन क्षत्रीले बताएका छन । ‘बिहीबार भएको सम्झौताबाट पनि सरकार पछि हट्यो,’ उनले भने ।

सरकारी वार्ता टोली र डा. केसी पक्षबीच शुक्रबार राति ९ बजेदेखि करिब डेढ घण्टा वार्ता भएको थियो  । बिहीबारको वार्ता निष्कर्षउन्मुख रहेको दुवै पक्षले दाबी गरेका थिए  । त्यतिबेला आन्तरिक गृहकार्य गरेर पुनः वार्तामा बस्ने समझदारी भएको थियो  । तर शुक्रबार अबेर राति मात्रै सरकारी टोली वार्ताका लागि तयार भएको थियो  । वार्तापछि डा. क्षेत्रीले सरकार नतिजामुखी हुन नदिने रणनीतिमा रहेको प्रस्ट भएको बताए  ।

प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेल डा.केसीको जीवनरक्षामा जिम्मेवार र संवेदनशील नभएको उनको भनाइ छ  । ‘दिनभरि गृहकार्य गर्दै छौं भनेर वार्तामा बस्न आलटाल गरियो,’ ‘हामीले राति १० बजे पत्रकार सम्मेलन गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्छौं भनेपछि ९ बजे वार्तामा डाकियो तर कुनै पनि बुँदालाई अन्तिम रूप दिन सकिएन ।’

वार्ता निष्कर्षविहीन भएपछि डा.केसी पक्षले सशक्त सडक आन्दोलन गर्ने चेतावनी दिएको छ  । डा.केसीका तर्फबाट गठित वार्ता टोलीले नै त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर चिकित्सक संघ, रेजिडेन्ट चिकित्सकका संगठनहरू, अन्य संस्था र आमनागरिकलाई आन्दोलनमा आउन अपिल गरेको छ  । ‘शिक्षामन्त्री दुराशय राखेर वार्ता कमिटीबाटै सम्पर्कविहीन भए । प्रधानमन्त्रीले पनि संवेदनशील भएर डा.केसीको जीवनरक्षा गर्ने प्रयत्न गरेनन्, बरु डा. केसीको ज्यान जाओस्, आन्दोलन अल्झाउने र वार्तालाई अनिश्चित काल लम्ब्याउने जस्तो मात्र देखियो,’ डा.क्षेत्रीले भने ।

डा. केसी पक्षीय वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले स्वास्थ्य जोखिममा रहेका सत्याग्रहीलाई कुराएर सरकारले गैरजिम्मेवारीपन देखाएको बताए  । ‘राज्यको योभन्दा ठूलो प्राथमिकता कुनै थिएन, हामीले त रातारात भए पनि टुंगो लगाउनुपर्छ भनेका थियौं,’ उनले भने, शुक्रबार बिहानैदेखि कोसिस गर्यो। आन्तरिक गृहकार्य भनेर कुराए, पर्खेकोपर्ख्यै भयौं, राति अबेर वार्तामा डाकियो तर कुरा मिल्न सकेन ।’ सरकारी टोलीका सदस्यहरूले भने वार्ताबारे केही बोल्न चाहेनन  ।

सत्याग्रहीलाई मृत्युशैय्यामा राखेर वार्तालाई बेवास्ता गरिएको डा. केसीका समर्थकको गुनासो छ  । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका पूर्वसभापति विभूतिरञ्जन झाले सरकारले मनैदेखि चाहेर डा. केसीसँग वार्ता नगरेको टिप्पणी गरे  । ‘सरकारले जनदबाबमा वार्ता टोली गठन गरेको हो, सरकार बिजनेसम्यान जस्तो छ, उसले नाफाघाटा हेरेर मात्र डा.केसीसँग सम्झौता गर्छ  । हतपती सहमति गर्दैन । सरकार संवेदनशील र जिम्मेवार भएको भए डा.केसीले २६ दिनसम्म सत्याग्रहमा बस्नु नपर्ने उनले प्रस्ट्याए  । ‘तत्काल सैद्धान्तिक सहमति मात्रै गरेर भए पनि जीवनरक्षाका लागि अनशन तोडाउन सकिन्थ्यो,’ उनले थपे, ‘सरकार बिचौलिया, माफिया र मेडिकल कलेजका सञ्चालकबाट चलेको छ, सरकारी वार्ता टोली पनि अह्राएको काम मात्रै गर्ने कारिन्दा जस्तो भयो  । अधिकार सम्पन्न वार्ता टोली भएन । प्रधानमन्त्री, मन्त्रीसमेतलाई कन्भिन्स गराउन सक्ने वार्ता टोली भएको भए यस्तो ढिलासुस्ती हुँदैनथ्यो  ।’

स्रोतका अनुसार बिहीबारको वार्ताको उपलब्धिबारे जानकारी गराउन सरकारी वार्ता टोलीलाई प्रधानमन्त्री ओलीले समय नै दिएका थिएनन् । डा. केसी पक्षीय वार्ता टोली शुक्रबार सरकारी वार्ता टोलीका संयोजक (शिक्षा सचिव गोपीनाथ मैनाली) सँग दिनभर सम्पर्कमा बसेका थिए  । तर गृहकार्य हँककदै छ भनेर समय दिइएन  । बिहीबार भने मोटामोटी सम्झौताको बुँदा तयार पारिएको र त्यसलाई प्रधानमन्त्रीबाट अनुमोदन गराउने काम मात्र बाँकी रहेको दाबी स्रोतले गरेको थियो  । अरू मागमा लगभग समझदारी बने पनि त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) का डिनलगायत पदाधिकारीको बर्खास्ती र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बहालवाला र पूर्वआयुक्तको सम्पत्ति छानबिन गर्ने विषयमा दुई वार्ता टोलीबीच मुख्य विमति थियो  । अधिकांश माग प्रधानमन्त्री र मन्त्रिपरिषद्सँग सम्बन्धित रहेकाले सम्झौताको मस्यौदा ओलीबाटै अनुमोदन गराउन प्रयास भइरहेको बताइएको थियो  ।

वार्ता बिनानिष्कर्ष टुंगिए पनि जुनैबेला पुनः वार्तामा बस्न तयार रहेको डा. केसी पक्षले जनाएको छ । बुधबार सरकारले शिक्षा सचिव मैनालीको संयोजकत्वमा ३ सदस्यीय र डा. केसीले डा. क्षत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका थिए । बिहीबार करिब १० घण्टा वार्ता भएको थियो ।

‘सोलिडारिटी फर डा. केसी अलायन्स’ ले सरकारलाई दबाब दिन शनिबार मध्याह्न माइतीघर मण्डलमा कार्यक्रम गर्ने घोषणा गरेको छ । डा. केसी पक्षका वार्ता टोली संयोजक डा. क्षत्रीले शुक्रबार राति ११ बजे विज्ञप्ति जारी गर्दै जीवनरक्षाका लागि थप सशक्त आन्दोलनको कार्यक्रम ल्याउन चिकित्सक संघ, रेजिडेन्ट चिकित्सकहरूका संगठनहरू, अन्य संस्था र आम नागरिकलाई विज्ञप्तिमार्फत आह्वान गरेका छन् । – कान्तिपुरबाट

  • प्रकाशित मिति : असोज २४, २०७७, शनिवार ०२:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८