• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

भरतपुरमा विना दर्ताका पसल संचालनमा, व्यापारीले ठग्न अझै छाडेनन्

  • खवरदाता

भरतपुरमा विना दर्ताका पसल संचालनमा, व्यापारीले ठग्न अझै छाडेनन्

आश्विन–१९, २०७७

चितवन । भरतपुरका मुख्य बजारहरुमा विना दर्ताका पसलहरु संचालनमा रहेको पाईएको छ । नारायणगढ तथा भरतपुर र आसपासका बजार क्षेत्रमानै विना दर्ताका पसलहरु संचालनमा रहेको पाइएपछि महानगरको अनुगमन टोलीले त्यस्ता पसलहरु बन्द गराएको छ ।

चाडपर्व नजिकिएसँगै बजारमा महँगी तथा कालोबजारी बढेको जनगुनासो आएपछि महानगरले राजस्व शाखा प्रमुख वरिष्ठ अधिकृत बिशुरामकुँवर को नेतृत्वमा सर्वपक्षीय टोली गठन गरी नियमित बजार अनुगमन गरिरहेको छ । अहिले महानगरले हरेक दिन जसो बजारका पसल तथा फर्महरुमा पुगेर नियमित अनुगमन गरी दोषी देखिएकोलाई कारबाही गर्ने गरेको छ । टोलीले खाद्य, माछा, मासु तथा अरु सर्वसाधारणले बढी खपत गर्ने बस्तुहरुको बिक्री केन्द्रमा अनुगमनलाई तिब्रता दिएको छ ।

अनुगमनकै क्रममा कमलनगरमा विना दर्ता खोलिएको आलम फिस सप्लाईलाई बन्द गराएको छ । आलमका संचालकलाई कागजातसहित महानगरमा आउन निर्देशन दिएको कुँवरले जानकारी दिए । त्यहाँ रहेका आधा दर्जन पसलले बाख्रीको मासु बिक्री गर्ने गरेको भेटिएको र सबै पसलेलाई आवश्यक कागजातसहित महानगरमा आउन भनिएको छ । उनीहरुले महानगरमा बाख्राको मासु पसल दर्ता गरेर बिक्री गरेको बताएका थिए । उनीहरुले दर्ताबिनै ब्यवसाय गरेको, कर नतिरी ब्यवसाय गरेको पाइए ब्यवसाय बन्द गरी आवश्यक कारबाही गरिने कुँवरले बताए ।

त्यस्तै केही समय पहिला जिल्ला प्रशासन कार्यालय चितवनले गरेको अनुगमनमा पनि प्याजमा ठगी गरेको व्यवसायीले फेरि पनि उपभोक्तालाई ठगेको पाइएको छ । अनुगमन टोलीले नारायणगढको आलु तथा प्याज मण्डीमा अनुगमन गरेपछि ठगी गरिरहेको भेटिएको छ । टोलीले अनुगमन गर्दा अर्जुन शाहले सञ्चालन गरेको जय सन्तोषी माँ स्टोर्सले प्याजमा तौल घटाएर बिक्री गरेको भेटिएको हो । १८ केजी भनेर बिक्री गरेको प्याजमा १७ केजी ३०० ग्रामसम्म मात्रै तौल रहेको भेटिएको थियो ।

त्यहाँ राखेका सबैजसो बोराहरु तौल गर्दा प्रत्येक बोरामा ५ सयदेखि ८ सय ग्रामसम्म तौल कम भएको भेटिएको थियो । टोलीले अरु ब्यवसायीको गोदाममा पनि तौल गरेर हेर्दा अरुमा तौलमा कैफियत नदेखिएको अनुगमन टोलीका सदस्य विष्णु भुषालले बताए । नियतवश नै तौल घटाएर ठगी गरिएकाले यसलाई कालोबजारी तथा ठगी मुद्दामा कारवाही गर्नुपर्ने उनको भनाई छ ।

  • प्रकाशित मिति : असोज १९, २०७७, सोमवार ११:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८