• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

दसैँ दसा वन्ने शिक्षकहरुको पिरलो

  • खवरदाता

दसैँ दसा वन्ने शिक्षकहरुको पिरलो

पढाउन लगाउने तर तलव नदिने चितवनका निजी विद्यालय संचालक विरुद्ध प्रदर्शन
आश्विन–१७, २०७७

चितवन । इन्द्रनारायण श्रेष्ठ चितवनको ग्रिनजोन पब्लिक स्कुलमा गणित विषय पढाउँछन् । लकडाउनले विद्यालय वन्द त भए तर श्रेष्ठको दैनिकी झन् व्यस्त वन्यो । भौतिक उपस्थिती नहुने भएपछि प्रविधिको प्रयोगबाट विद्यालयले पठनपाठन गर्न लगाएपछि आफ्नो कर्तव्य पुरा गरे । श्रेष्ठ भन्छन्“ विद्यार्थीले शिक्षा पाउनबाट बञ्चित हुनुहुन्न भनेर दिनरात खटिएका छौँ । असोजदेखि त दिनकै तीन वटा पिरियड छ । सवै अनलाईबाट पढाइरहेका छौँ । ”

तर श्रेष्ठ यतिवेला तलव निकालेर परिवारका समस्या समाधान गर्नुपर्ने हो । यति धेरै खटेर काम गरेपनि विद्यालयले अझै तलव दिएको छैन । उनिजस्तै धेरै निजी विद्यालयका शिक्षकहरुलाई संचालकहरुले विना तलव काम लगाइरहेका छन् । घरपरिवार त्यही तलवको स्रोतबाट चलाउँदै आएका शिक्षकहरु गर्त वर्षको चैत महिनाकै तलव पाएका छैनन् । एकातिर ठूला चाडपर्व नजिकिदै गएका छन् भने अर्कोतर्फ परिवारका दैनिक समस्या समाधान गर्नुपर्ने जिम्मेवारीमा उनीहरु छन् ।

विद्यार्थीसँग शुल्क नउठेको वाहाना गर्दै विद्यालय संचालकहरुले तलव नदिएपछि शनिवार भरतपुरको चौविस कोटीमा मौन विरोध प्रदर्शन गरेका छन् । शिक्षक श्रेष्ठ पनि त्यही विरोधमा भेटिए । विगतको वर्षमा यतिवेला चाडपर्वका लागि आवश्यक समान किनेको सम्झदै श्रेष्ठले भने,“ यो वर्ष चाडपर्वनै नआएनि हुन्थ्यो नि झैँ लाग्छ । ” उनि थप्छन,“विद्यार्थीसँग शुल्क नलिएर कक्षा चलाएकै छैनन तर हामीलाई जे गरेपनि हुन्छ भन्ने सोचेर होला तलव नै दिएका छैनन ।”

नारायणी इग्लिस पव्लिक सेकेण्डरी स्कुलमा पढाउँदै आएकी शोभा वास्तोलाले वैशाख र जेठ महिनाको २५ प्रतिशतका दरले तलव त पाईन तर त्यतिले न गर्जो टरेको छ न कुनै मेलो सरेको छ । तर खटाइ भने दिन रात छ । वास्तोला भन्छिन,“ विद्यालयले जे जे भनेको छ सवै गरेका छौँ । विद्यार्थीको गृहकार्य जाँच, वर्कसीट तयार, अनलाईन कक्षा आदि । तर सवै जिम्मेवारी पुरा गर्दापनि चाडपर्व आउन लाग्यो तलव नै दिँदैनन ।”

तलव नदिदा महिला कर्मचारी वढि समस्यामा परेको र यही आयस्रोतले घर चलेका र खर्च हुने दिन आउँदा समेत तलव नपाएपछि विरोधमा आएको बताईन । इष्टु महानगर संयोजक विष्णु पोखरेलले सरकार नै निकम्म हुँदा ज्यान फालेर परिश्रम उधारोमा विक्रि गर्न वाध्य भएको बताउँछन् । आफ्नो श्रम बेचेर उज्यालो छरेपनि विद्यालय संचालकहरुले शिक्षकहरु जीवननै अध्यारो बनाउन मात्रै लागिरहेको बताए । दयनीय अवस्था हुँदा सम्म संचालकहरुको मन नपलाएपछि शान्तिपूर्ण प्रदर्शनमा आएको पोखरेलले बताएका छन् ।

कोभिड–१९ र लकडाउनले निजी विद्यालयका शिक्षक ठूलो मर्कामा परेको बताउँदै पोखरेलले पहिलो चरणको आन्दोलनका कारण महानगर क्षेत्रका विद्यालयहरुले चैत्र मसान्त सम्मको तलव पुरा दिएको बताए तर असोजको मध्यसम्म आउँदा पनि वैशाख देखिको तलव नदिएपछि विरोधमा आएको पोखरेलको भनाई छ । पोखरेल भन्छन “कलिला विद्यार्थी र अभिभावकबाट रकम लिएपछि मात्रै तलव दिन्छु भन्छन् । अनि यतिका वर्षको नाफा चाहिँ खै ? काम गरेर पनि तलव नदिनेहरु सन्यास लिए हुन्छ, उनको आक्रोस थियो ।

ठूलो चाडपर्व आउँदा रौनकता हुनुपर्ने हो तर शिक्षकहरु रमाउन सकेनन । “मलम पट्टी लगाउनुपर्ने घाउमा नुन चुक छर्किए । जिविकाको र हातमुख जोड्नै समस्या भयो चाडपर्व त परको कुरा । ”
दिवाकर पौडेल इष्टु जिल्ला उपाध्यक्ष हुन । नारायणी इग्लिस पव्लिकमा पढाउने उनि बैशाख देखिनै अनलाईन कक्षामा निरन्तर खटिरहेको बताउछन् । “विद्यार्थीलाई शिक्षा दिने कर्तव्य भएकाले वन्चित गराएका छैनौँ तर लगानी कर्ता भने रमिता हेरेर बसेका छन् । काम लगाएपछि तलव दिनुपर्छ भन्ने सम्म वुझ्न कठिन मान्छन् ।”

इष्टु चितवनका अध्यक्ष तथा राष्ट्रिय समिति सदस्य जनकराज घिमिरेले जिल्लाकै पहिलो चरणको आन्दोलनले चैत्र सम्मको तलव भुक्तान भएको तर अझै पनि करिव २८ वटा निजी विद्यालयले चैत्रदेखिकै तलव नदिएको बताउछन् । जिल्लाको राप्ती नगरपालिकामा ११ वटा संस्थागत विद्यालय छन भने ८ वटा विद्यालयले चैत्र देखिकै तलव अझै भुक्तानी गरेका छैनन् ।

खैरेनीमा पनि समस्या छ भने भरतपुर महानगरमा कम समस्या छ । यस पटक तलव नदिने सवै निजी विद्यालयको लिष्ट तयार पारी केन्द्रमा वुझाएका र आज पनि केन्द्रको कार्यक्रमलाई समर्थन गर्न प्लेकार्ड सहित प्रदर्शनमा आएको बताए । शिक्षक कर्मचारी दशंकौं देखि पढाउँदै आइरहेको हूँदा संचालकले जिम्मेवारी लिनुपर्ने हो उनले थपे “राज्यले संस्थागत विद्यालयका शिक्षक तथा कर्मचरीको तलव सुविधा सामुदायिक विद्यालयका शिक्षक सरह रहने भन्ने अनि यो महामारीमा चाहिँ हामीलाई रुवाउन त पाइएन नी । सामुदायिक विद्यालका शिक्षक जस्तै गरी भुक्तान हुनुपर्छ अन्यथा चरणवद्ध आन्दोलन जारी रहन्छ ।”

भौतिक उपस्थितीमा कक्षा नभएपनि शिक्षकहरु अनलाईनबाट निरन्तर खटिएको र आधारभूत जिवनयापन गर्न सहजीकरण गरिदिन विद्यालय संचालक देखि सरकारसँग उनको माग छ । चैत्र सम्मको पुरै भुक्तानी र त्यसपछिका महिनामा २५ देखि ५० प्रतिशत तलव दिने सहमति भएपनि अधिकाँशले कार्यान्वयन नगरेको उनको भनाई छ ।

दसैँ आउँदै छ नि भन्ने प्रश्नमा उनले भने, “विगत लामो समय देखि तलव वुझिएको छैन । हर्षोल्सा हुनुपर्नेमा कसरी टार्ने भन्ने चिन्तामा छौँ । ”आजको प्रदर्शनमा आएका शिक्षक शिक्षिकाहरुले सेवा हामीले रोकेनौँ, भोकले आँखा देखेनौँ, दया हामीलाई चाहिँदैन अधिकार खोस्न पाइदैन लगायतका नारा लेखिएको प्लेकार्ड सहित मौन विरोध जनाएका थिए ।

जेठ अन्तिम सम्म पुरै तलव दिने ७ देखि ८ वटा मात्रै विद्यालय भएको भन्दै अझै करिव २८ वटा विद्यालयले विगत ८ महिनादेखि नै तलव नपाएको उनले बताए । चितवनमा १५४ वटा निजी विद्यालय प्याव्सनमा आवद्ध छन् ।

  • प्रकाशित मिति : असोज १७, २०७७, शनिवार ११:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८