• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

प्रचण्ड आफ्नै खुट्टामा किन बन्चरो हान्दै छन् ?

  • खवरदाता

प्रचण्ड आफ्नै खुट्टामा किन बन्चरो हान्दै छन् ?

नारायण दाहाल / आश्विन–१५,२०७७

काठमाडौँ । नेकपाको कार्यकारी अधिकार पाएको खुसीमा दोस्रोपटक फुरुंग परेको केही दिनमै पुष्पकमल दाहाल प्रचण्ड फेरि हिस्स परेका छन् ।

पार्टीका तर्फबाट हुने सबै निर्णयमा आफ्नो हात माथि परेको भानमा जागेको उत्साह एकाएक सेलाएको छ । फेरि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बन्द कोठामा पाखुरा सुर्किनुपर्ने अवस्थामा प्रचण्ड पुगेका छन् । ओलीका कार्यकर्ता प्रचण्डलाई पुरानै शैलीमा सार्वजनिक रुपमै खलपात्रका रुपमा चित्रित गर्न थालेका छन् ।

यो अवस्था आउनुमा अरु कोही नभएर प्रचण्ड स्वयंको कार्यशैली जिम्मेवार छ । लागेको बानी कहीँ न जानी भनेजस्तै अहिले पनि प्रचण्ड अनवरत रुपमा आफ्नै खुट्टामा बन्चरो प्रहार गरिरहेका छन् । यसले दिन प्रतिदिन राजनीतिक रुपमा ओरालो लाग्नेबाहेक अर्को कुनै नतिजा सम्मुखमा देखिँदैन ।

कुरा गरौँ, मन्त्रिपरिषद पुनर्गठनबाट । अहिले हरेक दिन ओलीसँग पाखुरा सुर्केर केही थान मन्त्रीका निम्ति प्रचण्ड लडिरहेका छन् ।

प्रचण्डका हिजोका सबै सहयोगीलाई ओलीले हातमा लिएका छन् । मन्त्रिपरिषदमा रहेकाहरुलाई ओली हटाउन तयार छैनन् ।

बाहिर भएकाहरुलाई पनि मन्त्रीको आश्वासन दिइरहेका छन् । तर प्रचण्ड भने हाल मन्त्रिपरिषदमा रहेका सबै सदस्य हटाउने र नयाँ पठाउने अडान राखिरहेका छन् । यस अडानले भएभरका मन्त्रीहरु प्रचण्डसँग चिढिएका छन् ।

भोलि मन्त्रिपरिषद पुनर्गठन हुँदा पनि सबैले पालो पाउने छैनन् । मन्त्रिपरिषदमा दिनदिनै ओलीसँग काम गर्नुपर्छ । ओलीको विश्वासमा रहेर काम नगरे आफ्नै भूमिका ओझेल पर्छ ।

त्यसैले जानी नजानी ओलीको बन्नुपर्ने बाध्यता हुन्छ, नयाँ मन्त्रीहरुलाई पनि । मन्त्री बन्नेभन्दा मन्त्रीका आकांक्षी बढी हुन्छन् ।

आकांक्षा राखेर नपाउनेहरु प्रचण्डसँग चिढिनेछन् । ओली पार्टीभित्र सक्दो धेरै प्रचण्डप्रति अविश्वास र असन्तोष जन्माउन चाहन्छन् । त्यसमा उनी सफल हुँदै पनि गएका छन् । तर, प्रचण्डले यो कुरा नबुझेर ससाना स्वार्थका लेनदेनमा जकडिन पुगेका छन् । झीनामसिना कुरामा अडान राखेर आफ्नै विरुद्धमा माहोल बनाइरहेका छन् ।

कुनै बेला प्रचण्डका विश्वासपात्र मात्र होइन, उनको सुरक्षाका निम्ति आफैले गोली थापेकाहरु अहिले प्रचण्डसँग टाढिएका छन् । प्रचण्डका व्यवहारबाट उनकै सहयोगीहरु रुष्ट छन् ।

सुदूरपश्चिमका माओवादी खम्बा लेखराज भट्टले प्रचण्डको साथ छाडिसकेका छन् । उनी अहिले ओलीका एक नम्बर समर्थक भएका छन् ।

पार्टी विवाद मिलाउँदा जनार्दन शर्माले ओलीको पक्षबाट पैरवी गरेका छन् । प्रचण्डको भूमिकाबाट रुष्ट भएका शर्माले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नका लागि पनि ओलीको ओत लाग्नुपर्ने बाध्यतालाई आत्मसात् गरेका छन् ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादललाई ओलीले हटाउन नचाहने तर प्रचण्ड कुनै हालतमा राख्न नचाहने कारणले द्वन्द्व सिर्जना भएको छ ।

यस द्वन्द्वको लाभ पनि ओलीलाई नै पुग्ने देखिएको छ । किनभने, पूर्वमाओवादीभित्रै बलेको आगो जति रापिलो भयो, अब पुसमागको जाडोमा उति नै आनन्ददायी हुनेछ, ओलीका निम्ति ।

किनभने, आउँदो चैतमा महाधिवेशन गर्नु छ । त्यतिञ्जेल प्रचण्ड सिपाहीबिनाका कमाण्डर हुनेछन् । यस्ता कमाण्डरसँगको लडाइँ नलडेरै जितिन्छ भन्ने ओलीले जति अरु कसले जितेका होलान् र ।

कुनै बेला प्रचण्डका पीए थिए, शक्तिबहादुर बस्नेत तर अहिले बस्नेतका लागि प्रचण्डभन्दा ओली भरपर्दा अभिभावक भएका छन् ।

त्यसो त नेकपा एकीकरणअघि नै बस्नेत लगायत तत्कालीन माओवादीका दोस्रो छिमलका नेताहरु प्रचण्डले पार्टी एकता गर्न ढिला गरे उनलाई छाडेर आफूहरु मात्रै एमालेमा प्रवेश गर्ने धम्की दिएका थिए ।

प्रचण्डले पनि आफू एक्लो पर्ने भएपछि हतारहतार माओवादीको चाबी ओलीको हातमा सुम्पिएका थिए । त्यसयता ओली घरधनी र प्रचण्ड डेरावालको हैसियतमा छन् ।

प्रचण्डका सबै पूर्वसहयोगीहरुलाई ओलीले आफ्नै सन्तानजस्तो गरी राखेका छन् । तर प्रचण्ड भने आफ्नै भूमिकाका निम्ति संघर्ष गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

वास्तवमा भन्ने हो भने प्रचण्डसँग अहिले राजनेता बन्ने अवसर थियो । उनी पार्टी अध्यक्ष र ओली प्रधानमन्त्री भएको मौका पारी उनले पार्टीभित्र आफ्नो क्षेत्र विस्तार गर्न सक्थे ।

ओलीलाई सम्पूर्ण रुपमा सघाउने, पार्टीबाट जो मन्त्री भए पनि आफ्नै भएको भन्दै स्वामित्व लिने, संवैधानिक निकायहरुमा एकाध पूर्वनोकरशाह नियुक्तिका लागि झगडा नगर्ने, जो भए पनि योग्य र अब्बल व्यक्ति हुनुपर्ने भन्दै आदर्शमा अडान राख्ने हो भने प्रचण्डको व्यक्तित्व झन् बढ्थ्यो ।

यस्तो भूमिकाले पूर्वएमाले खेमाले पनि उनलाई अभिभावकका रुपमा आत्मसात् गर्दै जान्थ्यो । आमनागरिकमा पनि उनीप्रति आस्था र भरोसा बढ्दै जान्थ्यो । यसबाट उनमा एक राजनेताको छवि निर्माण हुन सक्थ्यो । विगतका उनका कमीकमजोरीहरु विस्तारै ओझेल पर्दै जान्थ्यो ।

तर जब उनी पूर्वमाओवादी नेता भएर प्रस्तुत हुन्छन्, तब एमालेहरु उनको विपक्षमा एकगठ हुन्छन् । जब उनी ओलीसँग झुत्ती खेल्न जान्छन्, तब प्रतिपक्षी बनेर आफै विरोधी खेमामा पुग्छन् ।

संस्थापन बन्नुपर्ने नेताले जब प्रतिपक्षको भूमिका खेल्छ, तब उसले आफ्नो साख आफै गिराउँछ । आफ्नै दायरा साँघुरो बनाउँछ । सिंगो पार्टीको नेता नभई गुटको नेता बन्छ । गुटभित्रै कमजोर भएपछि त्यसपछि आफै एक्लो बन्न पुग्छ । अहिले प्रचण्डको हालत त्यस्तै भएको छ ।

प्रचण्डको कार्यशैली यस्तै रहेमा अब उनलाई चुनाव लड्ने ठाउँ पाउनै मुस्किल पर्नेछ । चितवनमा उनलाई हराउन रामबहादुर थापा बादल काफी छन् । सुदूरपश्चिममा बुहारी बिना मगरलाई साइजमा राख्न लेखराज भट्टको नाम लिए पुग्ने अवस्था छ ।

रेणु दाहालका निम्ति अब बलि चढ्न तयार हुने अब कुनै कांग्रेस हुने छैन । जनार्दश शर्मा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, शक्ति बस्नेतजस्ता उनका पूर्वसहयोगीहरुको दस्ता नै तितरबितर हुनु भनेको प्रचण्डका दीनदशा सुरु हुनु हो ।

ओलीसँग केही थान मन्त्रीका निम्ति फरक पार्टीको नेताले जस्तो आफ्नै पार्टीमा मोलमोलाइ गर्न उत्रिनु भनेको आफ्ना थप विरोधी जन्माउनु हो । भएको राजनीतिक साख र शक्ति पनि गिराउनु हो । आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नु हो । यो नबुझेसम्म प्रचण्डको ओरालो यात्रा निरन्तर र तीब्रतर बन्दै जानेछ ।

  • प्रकाशित मिति : असोज १५, २०७७, बिहीवार ११:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८