• माघ ११, २०८१, शुक्रवार Friday, 24 January, 2025

इजरायल, युएई र बहराइनबिच ऐतिहासिक सम्झौता


इजरायल, युएई र बहराइनबिच ऐतिहासिक सम्झौता

भाद्र–३१, २०७७

संयुक्त अरब इमिरेट्स र बहराइनले आपसी सम्बन्ध सामान्य बनाउन इज्राइलसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दुवै खाडी देशले सम्झौतामा हस्ताक्षर गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको प्रशंसा गर्दै ’नयाँ मध्यपूर्वको प्रारम्भ’ बताएका छन् ।

उनले सम्झौतामा हस्ताक्षर गर्दाको एक भिडियो सेयर गरेर लेखे, दशकौँदेखि विभाजन र संघर्षपछि आज हामीले एक नयाँ मध्यपूर्वको प्रारम्भ गरेका छौँ । इज्राइल, संयुक्त अरब इमिरेट्स र बहराइनका जनतालाई बधाई । भगवानले तपाईंहरूको कल्याण गरुन् !

डोनाल्ड ट्रम्पले मंगलबारको कार्यक्रममा सहभागी हुन ह्वाइटहाउस पुगेका मानिसलाई सम्बोधन गर्दै भने, “आज अपराह्न हामी यहाँ इतिहास बदल्न आएका छौँ । इज्राइल, युएई र बहराइन अब एक राष्टले अर्को राष्ट्रमा दूतावास बनाउनेछन् । राजदूत नियुक्त गरेर सहयोगी मुलुकका रूपमा काम गर्नेछन् । अब उनीहरूबिच सम्बन्ध सुरु भएको छ ।“

अमेरिका, युएई र बहराइनले यस सम्झौतालाई ऐतिहासिक बताएका छन् । संयुक्त अरब इमिरेट्स र बहराइनलाई यस सम्झौतासम्म लैजान डोनाल्ड ट्रम्पको भूमिका ठुलो छ ।

इज्राइल–प्यालेस्टाइन संघर्ष समाधान गर्ने उद्देश्यले जनवरीमै आफ्नो मध्यपूर्व शान्ति योजना पेस गरेका राष्ट्रपति ट्रम्पले दुवै सम्झौता गराउन सहयोग गरेका छन् ।
यससँगै युएई र बहराइन सन् १९४८ मा इज्राइलको स्थापनापछि त्यसलाई मान्यता दिने तेस्रो र चौथो अरब देश बनेका छन् ।

गत महिना संयुक्त अरब इमिरेट्स (युएई) पनि इज्राइलसँग आफ्नो सम्बन्ध सामान्य बनाउन सहमत भएको थियो । त्यतिबेलै बहराइनले पनि यसो गर्ने अनुमान गरिँदै थियो ।
सम्झौतापछि राष्ट्रपति ट्रम्पले बाँकी अरब देश पनि यस दिशामा अघि बढ्ने आशा गरेका छन् । यद्यपि प्यालिस्टाइनीहरूले अरब देशहरूसँग प्यालेस्टाइन र इज्राइलबिचको विवाद समाधान नभएसम्म प्रतीक्षा गर्न अपिल गरेका छन् ।

अधिकांश अरब देशहरू इज्राइलले प्यालेस्टाइनसँगको विवाद समाधान गरेपछि आफ्नो सम्बन्ध सामान्य बनाउने बताउँदै आएका छन् ।

इज्राइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सम्झौताको स्वागत गरे । उनले भने, “आज इतिहासले कोल्टे फेरेको छ । यसले शान्तिको नयाँ बिहानी लिएर आउनेछ ।“
प्यालेस्टाइन नेता महमुद अब्बासले चाहिँ इज्राइलले कब्जा गरेको भूमि छोडेपछि मात्र मध्यपूर्वमा शान्ति आउन सक्ने दाबी गरे ।

इज्राइलले कब्जा गरेको जमिन छोडेपछि मात्र मध्यपूर्वमा शान्ति, सुरक्षा र स्थिरता पनि आउँछ ।
इज्राइली सेनाका अनुसार सम्झौतामा हस्ताक्षर कार्यक्रम चल्दै गर्दा गजापट्टीबाट इज्राइलतर्फ दुई रकेट फालिएका थिए ।

विदेश मामिलाकी बिबिसी संवाददाता बारबरा प्लेटले राष्ट्रपति ट्रम्प र बहराइन र युएईलाई सम्झौता गर्न सघाउने उनका ज्वाइँ ज्यारेड कसनरका लागि यो कूटनीतिक उपलब्धि भएको बताइन् ।
मध्य–पूर्वको तत्कालीन भ्रमणबाट फर्केपछि कसनरले पत्रकारलाई भने, ट्रम्प प्रशासनले पूरै इलाकामा एक सकारात्मक ऊर्जा का प्रसार गरेको छ यो धेरै सकारात्मक छ ।

ट्रम्पले यी अन्तर्राष्ट्रिय सम्झौताहरूका उपलब्धिलाई निर्वाचन अभियानमा उपयोग गर्ने अनुमान गरिएको छ । (बिबिसी)

  • प्रकाशित मिति : भदौ ३१, २०७७, बुधवार ०३:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८