• कात्तिक २२, २०८१, बिहीवार Thursday, 07 November, 2024

‘कहिले काहिँ त पासो लगाई मरुँ जस्तो लाग्छ’


‘कहिले काहिँ त पासो लगाई मरुँ जस्तो लाग्छ’

केपी शर्मा  /  भाद्र–२६,२०७७

फागुन महिना सम्म मनिलाल कट्वालको दुःख सुख दुई छाकको जीन्दगी चलिरहेको थियो । उनको व्यापार व्यवसाय सदाझै सामान्य रफ्तारमै थियो । श्रीमतिले दिनभर पसल पसलमा गएर अगरबत्ती बेच्थिन । दैनिक ६/७ हजारको व्यापार हुँदा हुने नाफाले जसो तसो जिविका चलेकै थियो ।
कालिकोट घर भएका दृष्टिविहिन कट्वाल दम्पती गैंडाकोटमा बस्दै आएका छन् । उनिहरुको कमाईले कालिकोटमा रहेका बाउ आमालाई समेत तेल नुनको खर्च धान्दै थियो । तर विश्वमा आएको महामारी कोरोना भाईरसले नेपाललाईपनि नछोडेपछि उनिहरुको हुने एक दुई पैसा कमाईमा पुर्ण विराम लाग्यो ।

चैत्र महिनाको मध्यदेखि शुरु भएको लकडाउन र त्यसपछि सिर्जित निषेधाज्ञाले उनलाई मर्नु न बाँच्नु बनाएको छ । कसैन कसैको सहारा लिएर बजारका पसल पसलमा अगरवत्ती बेच्ने कट्वालको दैनिकी विगत ५ महिनादेखि एउटा अध्यारो कोठामा वितिरहेको छ । नयाँ ठाँउ, चिनजानको कमी जस्ता कारणले कसैबाट सहयोगको अपेक्षागर्न सकिएन । हुन त शुरुका समयमा २ पटक सम्म गैंडाकोट नगरपालिकाले दिएको राहतले गुजारियो । तर त्यसपछिका दिनहरु बेकारका लाग्न थालेका छन् । कहिले काहि गाउँलेको सहयोगमा आमाले फोन गर्छिन । आमाको फोनमा केहि सहयोगको अपेक्षा बुझिन्छ । तर आफुहरु नै भोकै परेको अवस्थामा मैले केनै दिन सकुला र ?

चिउरा र पानीको भरमा अनि कहिले काहि भोकै सुत्नुपर्दा त पासो लगाई मरु जस्तो लाग्छ । तरपनि प्रेम विवाह गरेकी दृष्टि विहिन श्रीमति र पारिवारिक मायाले गर्दा त्यसोपनि किन गर्न सकिन्थ्यो र ?
दृष्टि विहिन मनिलाल अहिले सानो ठिमी कलेज भक्तपुरमा नेपाली विषयमा व्याचलर चौथो वर्षमा अध्ययनरत छन् । भविश्यमा शिक्षक बन्ने उनको अभिलासा छ । उनमा आफु राम्रो शिक्षक बनेर गाउँमै फर्कने र आफु जस्तै दृष्टि विहिनलाई शिक्षा दिने महत्वकांक्षा छ । तर कोरोनाका कारण चौंथो वर्षको परिक्षा अनिश्चित भएपछि त्यो सपनापनि कसो हुने हो उनलाई पत्तो छैन ।

हुन त कट्वाल जन्मदैका दृष्टिविहिन होईनन् । कक्षा ४ तिर पढ्दै गर्दा आँखा दुख्ने समस्या आएपछि उपचार अभावमा उनको आँखाको ज्योति विस्तारै हराउँदै गएको थियो । पढाईमा अव्वल रहेका कट्वालले कालिकोट कै स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उर्तिण गरि अहिलेको अवस्थामा आईपुगेका हुन ।

अहिले निषेधाज्ञामा केहि खुकुलो भएपछि उनि आफ्नो व्यापारलाई पुन निरन्तरता दिन थालेका छन् । दैनिक १०÷१२ पोका सम्म सामान बिक्री गर्ने उनि अहिले मरेर १ पोका, कहिले काहि त त्यहिपनि बिक्री नहुने बताउँछन् । भरतपुरको हाकिम चोकमा सुर्खेतका चक्र बुढाको सहारामा भेटिएका कट्वाल भन्छन ‘किराना पसलमा हाम्रो व्यापार बढी हुन्छ तर पसल खुल्ने समय मनलाग्दी भएकोले व्यापार हुनै छाड्यो ।’ उनले अझैपनि अवस्था राम्रो देखेका छैनन् । महामारीले गर्दा बजार र आफ्नो व्यापार पुरानै शैलीमा फर्कन अझै वर्षौदिननै लाग्ने उनको अनुमान छ । त्यतिका बेलासम्म कसरी जिवन यापन गर्ने पिडा यथावत छ ।

यस्ता दृष्टिविहिनहरु चितवन र आसपासमा १०/१२ परिवार नै छन् । त्यसमध्ये केहिले यस्तै अगरवत्ती बेच्ने काम गर्छन भने केहिले चोक चोकमा बसेर गीत गाएर आफ्नो जीवन यापन गर्दै आएका छन् ।

  • प्रकाशित मिति : भदौ २६, २०७७, शुक्रवार ०३:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८