• मंसिर २४, २०८१, सोमवार Monday, 09 December, 2024

इराक, अफगानिस्तानबाट थप अमेरिकी सैनिक फिर्ताको तयारी


इराक, अफगानिस्तानबाट थप अमेरिकी सैनिक फिर्ताको तयारी

भाद्र–२४,२०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक थप कटौती गर्ने तयारी गर्नु भएको अमेरिकी वरिष्ट अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले इराकका बारेमा बुधबार र अफगानिस्तानका बारेमा केही दिनभित्रै सैनिक कटौतीको घोषणा गर्नुहुने ह्वाइट हाउसका ती अधिकारीले बताए । इराकी प्रधानमन्त्री मुस्तफा अल–काधेमीसँग गत अगस्टमा भएको भेटवार्तामा पनि राष्ट्रपति ट्रम्पले इराकबाट अमेरिकी सैनिक फिर्ता हुने बताउनुभएको थियो, तर उहाँले सैनिक फिर्ताको मिति भने घोषणा गर्नु भएको थिएन ।

पछिल्लो समय इराकभित्र अमेरिकी सैनिकमाथि लक्षित गरी इरान समर्थित लडाकूहरुले आक्रमण तिब्र बनाएका छन् भने इराकमा तैनाथ करिब ५ हजार अमेरिकी सैनिकलाई हटाउनु पर्दछ भन्ने इराकी जनमत पनि बढ्दो छ ।

इराकबाट सन् २०११ मा अमेरिकी सैनिक फिर्ता भए पनि अमेरिकी राजदूतावासको सुरक्षार्थ भन्दै केही सैनिक रहेका थिए । तर केही वर्षपछि इस्लामिक स्टेट विरुद्धको युद्धमा इराकी फौजलाई मद्दत गर्न भन्दै थप अमेरिकी सेना इराक पठाइएको थियो ।

अफगानिस्तानमा हाल आठ हजार ६०० अमेरिकी सैनिक तैनाथ छन् । अफगानिस्तानमा युद्धरत तालिबान समूह र अमेरिकी सरकारबीच गत फेब्रुअरीमा भएको सम्झौता बमोजिम करिब पाँच हजार अमेरिकी सैनिक कटौती गरिएको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले गत अगस्टमा अन्तर–अफगान शान्ति वार्तामा प्रगति भएमा अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या पाँच हजारभन्दा कम गरिने जनाएको थियो ।
एक्सिओसलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचन अगाडि नै सैनिक संख्या कटौती गरी ४ हजारदेखि ५ हजारमा सीमित गरिने बताउनुभएको थियो ।

अमेरिका–तालिबान सम्झौता बमोजिम अफगानिस्तानबाट आगामी सन् २०२१ भित्र सबै विदेशी फौज फिर्ता हुनु पर्नेछ । त्यसका निम्ति तालिबान समूहले सुरक्षा प्रत्याभूति दिनु पर्नेछ । राष्ट्रपति ट्रम्पले अमेरिकाले अन्त्यहीन युद्धमा सहभागी हुन नसक्ने भन्दै विश्वका युद्धग्रस्त मुलुकबाट आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गर्नु भएको छ । रासस

  • प्रकाशित मिति : भदौ २५, २०७७, बिहीवार ०२:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८