• जेठ १३, २०८१, आइतवार Sunday, 26 May, 2024

नेपालविरुद्ध बहराइनको फराकिलो जित

  • खबरदाता

नेपालविरुद्ध बहराइनको फराकिलो जित

चैत ९, २०८०, शुक्रवार

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ ।

बिहीबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक–एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै अल हुमाइदानको गोलमा बहराइनले अग्रता बनाएको थियो । नवौँ मिनेटमा नै सायद बाकरले गोल थप्दै घरेलु टिमको अग्रता दोब्बर पारेका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा अली मादानले गोल गरेपछि बहराइनले अग्रतालाई ३–० को सहज अवस्थामा पुर्‍याएको थियो।

पहिलो हाफमा तीन गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप दुई गोल बहोर्‍यो । खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा इब्राहिम अल खतलले गोल गरेपछि बहराइनले ४–० को अग्रता बनाएको थियो ।

यस्तै, इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई इस्माइल अब्दुल्लातिफले सदुपयोग गरेपछि बहाइनले ५–० को फराकिलो जित सुनिश्चित गरेको हो ।

सुरुआतदेखि नै बहराइनको आक्रमण झेलेको नेपालले १६औँ मिनेटमा चोटका कारण फरवार्ड अञ्जन विष्टलाई परिवर्तन गरेको थियो । अञ्जनको स्थानमा दिनेश हेन्जन मैदान प्रवेश गरेका थिए ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको बहराइन समूह ‘एच’को दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि अंकविहीन नेपाल भने तालिकाको पुछारमा छ । यस समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४–० को र दोस्रो खेलमा यमनसँग २–० को हार बेहोरेको थियो ।

यता, बहराइनले यसअघि यूएईसँग २–० को हार बेहोर्दा दोस्रो खेलमा यमनलाई २–० ले हराएको थियो।

यी दुई टिमबीचको दोस्रो लेग बहराइनमै मार्च २७ मा हुनेछ ।

  • प्रकाशित मिति : चैत ९, २०८०, शुक्रवार ०६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८