• जेठ १३, २०८१, आइतवार Sunday, 26 May, 2024

आज एसिया कपमा पहिलो खेल खेल्दै नेपाल

  • खबरदाता

आज एसिया कपमा पहिलो खेल खेल्दै नेपाल

भदौ- १३, २०८०

 

प्रतिक्षाको घडी समाप्त भएको छ । नेपाली राष्ट्रिय टीमले इतिहासमै पहिलो पटक क्रिकेटको एउटा महाशक्ति राष्ट्रसँग भिड्दैछ भोलि । यो क्षणका लागि नेपाली क्रिकेटप्रेमीले लामो समयदेखि सपना देखेका थिए ।

क्रिकेटमा नेपालभन्दा धेरै बलियो राष्ट्र हो पाकिस्तान । उसले एक दिवसीय विश्वकप, टी-२० विश्वकप र च्याम्पियन्स ट्रफी जस्ता प्रतियोगिताहरु जितिसकेको छ । भर्खरैमात्र पाकिस्तान एक दिवसीय क्रिकेटको विश्व वरियतामा एक नम्बरमा उक्लियो । अर्थात्, नेपाल विश्वको नम्बर एक क्रिकेट टीमविरुद्ध भिड्दैछ ।

स्वाभाविक रुपमा पाकिस्तान जीतको दावेदार हो । यसलाई ९०ः१० को प्रतिस्पर्धा मान्दा पनि हुन्छ । तर, क्रिकेट सबैभन्दा अनिश्चितताको खेल पनि हो । र, पाकिस्तान अनिश्चित क्रिकेट खेल्न कहलाएको छ । एक दिन ऊ उत्कृष्ट क्रिकेट खेल्छ भने अर्को दिन साह्रै झूर पनि खेल्छ । कहिले आफूभन्दा बलियो टीमलाई सहज रुपमा हराउँछ, कहिले निकै कमजोर टीमसँग पनि लज्जास्पद हार व्यहोर्छ । यदि भोलिको म्याचमा पाकिस्तानको कमजोर रुप प्रकट भयो भने नतिजा केही भन्न सकिन्न ।

नेपाली क्रिकेट भने यतिबेला अहिलेसम्मकै उचाइमा छ । विश्वकप लिग २ मा नेपालले अविश्वसनीय रुपमा पछिल्ला १२ मध्ये ११ वटा खेल जित्यो । घरेलु मैदानमा एसीसी प्रिमियर कपमा विजेता हुँदै नेपाले एसिया कपमा स्थान बनाएको हो । अर्थात, नेपालले कुनै आरक्षण पाएर वा कागताली परेर एसिया कप खेल्न पाएको होइन । आफ्नो स्थान आफैंले संघर्ष गरेर बनाएको हो ।

नेपाली खेलाडीका लागि एसिया कप खेल्नु सपनाभन्दा कम होइन । तर, अब त्यसो भनेर खेलाडीहरु मैदानमा मखलेल ट्वाल्ल पर्नेवाला अवश्य छैनन् । खेल्नु नै ठूलो कुरा हो भने सुरुमै पराजित मानसिकतामा उत्रिने छैनन् । समर्थक चाहन्छन्, कम्तीमा पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलोस् नेपाली टीमले । सहजै आत्मसमर्पण नगरून् ।

नेपाली टीमसँग यतिबेला उत्साह छ, आत्मविश्वास छ, प्रतिभा छ र स्थिरता पनि छ । टीममा हरेक विशेषताका खेलाडीहरु छन् । टीमको ब्याटिङ पंक्ति निकै लामो छ । १० नम्बरसम्म आउनेले मज्जाले ब्याट चलाउन सक्छन् । अलराउन्डरहरु टीममा भरपुर छन् । हार्ड हिटरहरु छन् । यदि केहीको कमी छ भने त्यो हो स्तरीय फास्ट बलरको । सोमपाल कामी र करण केसीको जोडीसँग अनुभव छ । तर, बलिङमा धार छैन । उनीहरुलाई पाकिस्तानी ब्याट्सम्यानले टार्गेट गर्ने निश्चित छ ।

पाकिस्तानको प्रमुख हतियार भनेको फास्ट बलिङ हो । साइन साह अफ्रिदी, ह्यारिस रफ र नसिम साहको ‘तिगडी’ ले जतिसुकै बलियो ब्याटिङ पंक्तिलाई पनि धराशायी बनाउन सक्ने क्षमता राख्छन् । यद्यपि, नेपालका लागि सन्तोषको पक्ष चाहिँ मुल्तानको पिचले फास्ट बलरलाई त्यति सहायता गर्दैन । फास्ट बलिङको तुलनामा पाकिस्तानको स्पिन अलिक फितलो छ । सदाब खान मुख्य स्पिनर हुन् भने इफ्तिकार अहमदले पार्टटाइम स्पिन गर्न सक्छन् ।

नेपालको चाहिँ मुख्य शक्ति नै स्पिन हो । सन्दीप लामिछाने र ललित राजवंशीको बललाई खुलेर खेल्न त्यति सजिलो हुनेछैन पाकिस्तानी ब्याट्सम्यानका लागि । साथमा दीपेन्द्रसिंह एैरीले पनि कसिलो १० ओभर फ्याक्न सक्छन् । नेपालले पाकिस्तानविरुद्ध आफ्नो बलिङ आक्रमण स्पिनमै केन्द्रित गर्नुपर्ने देखिन्छ ।

ब्याटिङको कुरा गर्दा पाकिस्तानसँग केही विश्वस्तरीय ब्याट्सम्यान छन् । लामो समयदेखि विश्व वरियताको एक नम्बरमा रहेका बाबर आजम पाकिस्तानी ब्याटिङका मुख्य खम्बा हुन् । इमाम उल हक र फकार जमानको ओपनिङ जोडी पनि निकै बलियो छ । फकार जमान क्रिजमा सेट भए भने खतरनाक रुप लिन सक्छन् । इमाम पनि निकै प्रतिभाशाली ब्याट्सम्यान हुन्, जो विश्व वरियताको तेस्रो नम्बरमा छन् ।

पाकिस्तानको मध्यक्रममा मोहम्मद रिजावन, आघा सलमान र इफ्तिकार अहमदले सम्हाल्नेछन् । सातौं नम्बरमा खेल्ने सदाव खान पनि आक्रामक ब्याट्सम्यान हुन् । उनले धेरै वटा म्याचमा पाकिस्तानको रेस्क्यु गरेका छन् ।

नेपालको ब्याटिङ पंक्ति स्थिर नै छ । धेरै चलाउनुपर्ने केही छैन । यद्यपि, तेस्रो नम्बरमा कसलाई खेलाउने भन्नेमा अलिकति संशय हुनसक्छ । अवस्था हेरेर भीम सार्की वा कुशल मल्लमध्ये एक जनाले तेस्रो नम्बरमा खेल्न सक्छन् ।

नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेख नै हुन् । कुशल राम्रो फर्ममा छन् भने आसिफ केही संघर्ष गरिरहेका छन् । उनीहरुले राम्रो सुरुवात दिएको खण्डमा तल्लो क्रमले खुलेर खेल्नसक्छ ।

नेपालको मिडल अर्डर एसोसिएट्सको स्तरमा सशक्त छ । रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा जस्ता फरक फरक शैलीमा खेल्ने ब्याट्सम्यानहरु नेपालसँग छन् । पाकिस्तानसँगको खेलमा नेपालले दीपेन्द्रबाट बढी आश राखेको छ । उनी अनुभवी हुनुका साथै हालै ग्लोबल टी(२० मा केही विश्वस्तरीय बलरहरुको सामना गरेर फर्किएका हुन् । नेपालले आरिफ शेख र भीम सार्कीमध्ये एकलाई बेञ्चमा राख्नुपर्नेछ, ताकि ललित राजवंशीलाई अटाउन सकियोस् ।

नेपालको ब्याटिङ कुनै दुईतीन व्याट्सम्यानमा निर्भर छैन । फरक फरक म्याचमा फरक फरक खेलाडीले आफूलाई प्रुफ गर्दै आएका छन् । भोलिको म्याच भने सबै खेलाडीका लागि ठूलो अवसर हो, आफ्नो क्षमता देखाउने । यदि कुनै ब्याट्सम्यानले उत्कृष्ट इनिङ खेल्न सफल भएमा उनीहरु विश्व क्रिकेटकै नजरमा पर्न सक्छन् ।

एउटा कुरा के हो भने पाकिस्तानविरुद्धको म्याचमा नेपाललाई कुनै दबाब छैन । ‘जिते चमत्कार, हारे स्वीकार’को स्थितिमा नेपाली टीम छ । अर्कोतर्फ पाकिस्तानी टीम नेपाललाई सहजै हराउनेमा विश्वस्त छ ।

मुल्तानको पिच ब्याट्सम्यानमैत्री मानिन्छ । नेपालको त्रिवि मैदानको पिचसँग मिल्दोजुल्दो भएकाले नेपाली ब्याट्सम्यानहरुले खुलेर खेल्ने अपेक्षा गर्न सकिन्छ । अर्कोतर्फ पाकिस्तानको आफ्नो होम ग्राउन्डमा घरेलु दर्शकमाझ आफूभन्दा कमजोर टीमसँग खेल्दैछ । उनीहरु जीतमात्र भन्दा पनि ठूलो अन्तरको जीत चाहन्छन् ।

 

  • प्रकाशित मिति : भदौ १३, २०८०, बुधवार ०६:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८