• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

यो वर्ष आफै सुरक्षित बनौँ

  • संबाददाता

यो वर्ष आफै सुरक्षित बनौँ

संसारमा कोरोना भाइरसका कारण लाखौँको ज्यान गइरहेको समयमा नयाँ खोज र नयाँ तथ्यहरू पनि फेला परिरहेका छन् । उपचार पद्धतिले फड्को मारेको कारण संसारमा सङ्क्रमण दर बढे पनि मृत्यु दर भने घटी रहेको छ । पूर्ण मान्यता प्राप्त औषधी पत्ता नलागे पनि आधुनिक र विभिन्न देशमा प्रचलित वैकल्पिक चिकित्सासँग सम्बन्धित सबै जनाको प्रयास यावत नै रहेको छ । यस बिचमा पछिल्लो समय भएको भ्याक्सिनको विकास क्रमका समाचारले धेरैलाई उत्साहित तुल्याएको छ । परन्तु यसका व्यवहारिक पाटोलाई धेरैले ध्यान दिएको पाइँदैन । भ्याक्सिनको पहिलो चरण रिसर्च या एक्सप्लोरोटरी, दोस्रो प्री क्लिनिकल , तेस्रो, क्लिनिकल, चौथो मान्यता , पाँचौँ उत्पादन र छैटौँ वितरण पद्धति हो । संसारमा हालसम्म बनेको धेरै भ्याक्सिन दशकौँ लागेर बनेका हुन् । खासमा रोगको उपचारका साथै अन्य रोगको साइड इफेक्ट दुवैको अध्ययन आवश्यक भएका कारण यो समय लागेको हो । तर, कोरोनाको भ्याक्सिन नै यस्तो हो, जुन एकदमै छोटो समयमा निर्माण भइरहेको छ । यस कारण यो पूर्ण रूपमा उपयोगी कत्ति हुने हो भन्ने एउटा बहस अझ बाँकी नै छ । संसारमा १३५ भन्दा भ्याक्सिन प्री क्लिनिकल ट्रायलको अवस्थामा रहेका छन् । क्लिनिकल ट्रायलको पहिलो चरणमा २० ,दोस्रोमा ११ र तेस्रोमा ८ वटा रहेका छन् । यसै गरी, दुई वटाले मान्यता पाएका छन् । तर मान्यता पाएका यी दुईको तेस्रो चरणको क्लिनिकल ट्रायल जारी रहेका कारण हतार गरिएको आरोप लगाइएको छ ।
गत साता रुसी सरकारले मान्यता दिएको स्पुटनीक ५ भ्याक्सिन अहिले स्वतथ्यकर्मीमा लगाइएको छ । सेप्टेम्बरमा उत्पादन गर्ने र अक्टोबरमा बजारमा आउने लक्ष्य रहेको यो भ्याक्सिन प्रति मिश्रित प्रतिक्रिया रहेका कारण कतिपय देशले उपयोग नगर्ने जानकारी गराएका छन् । परन्तु, केही देशले अर्डर पनि गरिसकेका छन् । कानसिनो र चिनिया सेनाको संयुक्त प्रयासमा बनेको एडी ५ भ्याक्सिन सेनाका लागि प्रयोग गरिँदै गर्दा अन्य चिनिया भ्याक्सिन पनि अन्तिम चरणमा प्रवेश गरिरहेका छन् । चीनका नौ भ्याक्सिन क्लिनिकल ट्रायलको चरणमा रहेका छन् । यी मध्य ५ वटा तेस्रो चरणको ट्रायलमा छन् । अन्तिम चरणमा रहेको सीनो फार्मको भ्याक्सिन र हङकङ कम्पनीका साथै पेकिङ विश्वविद्यालयसँगको सहकार्यमा अघि बढेको सिनोभ्याक बायोटेकको भ्याक्सिन पनि चाँडो आउने अनुमान गरिएको छ । भ्याक्सिनका काम गर्ने भिन्न तरिका मध्य भाइरस “इनएक्टीभ” गर्ने शैलीलाई चीनले प्राथमिकता दिएको छ । संसारमा क्लिनिकल ट्रायलमा पाँच वटा यस खाले भ्याक्सिन रहेका छन् । जसमा चार चिनिया भ्याक्सिन हुन् । सबैको भ्याक्सिनका बारे चासो रही रहँदा अहिले सबैले ध्यान दिनु पर्ने कुरा के मात्र होइन, संसारका ७ अर्व जनसङ्ख्यालाई भ्याक्सिन वितरण विश्व स्वास्थ्य सङ्गठनको पनि चासोको विषय हो । यसका लागि लामो समय कुर्नुको विकल्प छैन । हामीले आशा र अपेक्षा गर्ने यत्ति मात्र हो की केही वृद्ध र बृद्धाका साथै दिर्घरोगीको चयन मात्र अहिले विकल्प हो । यस क्रममा हामीले आशा गर्ने पहिलो देश चिन नै हो । चीनले पनि पाकिस्तान र नेपाल लगायतलाई सहयोग गर्ने प्रतिबद्धता देखाइसकेको छ । तर, हामीले कहिले पाउने भन्ने प्रश्न अनुत्तरित छ । तर अनुमान गर्ने आधार भने धेरै देखिएका छन् । हाल चीनले एउटा भ्याक्सिन आफ्ना सेनालाई दिए पनि मास उत्पादनमा केही समय लाग्ने छ ।
यसै गरी, रुस र चिन पछि अमेरिकी कम्पनी मोडर्नाले तयार गर्न आटेको भ्याक्सिन अन्तिम चरणको ट्रायलमा रहेको छ । ३ नोभेम्बरसम्म बजारमा दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे पनि यो सम्भावना कम रहेको वैज्ञानिकहरू बत्ताउँछन् । सन् २०२० को अन्त्य या २०२१ को सुरुवातमा यो बजारमा आउने अनुमान गरिएको बताइन्छ । शरीरमा भाइरस प्रोटिन उत्पादन गर्ने यो भ्याक्सिन म्यासेन्जर आरएनएमा आधारित रहेको छ । दोस्रो चरणमा उत्कृष्ट नतिजा दिए पछि २७ जुलाई देखि यसको तेस्रो चरण ट्रायल सुरु भएको हो । जर्मन कम्पनी बायोएनटेक र अमेरिकाको फाइजरको सहकार्यमा अर्को भ्याक्सिन पनि अन्तिम चरणमा पुगेको छ । अर्जेन्टिना, ब्राजिल र जर्मनीमा समेत कुल ३० हजार स्वयंसेवकले यो भ्याक्सिन पाउने छन् । ट्रम्प प्रशासनले डिसेम्बरसम्ममा १० करोड डोज तयार भइसक्ने जनाएको छ । यसै गरी जापानले १२ करोड डोजको खरिद सम्झौता गरिसकेको छ । सन् २०२१ को अन्त्यसम्ममा १ अर्व ३० करोड डोज उत्पादन गर्ने लक्ष्य राखेको छ ।
अक्सफोर्ड विश्व विद्यालय र अस्ट्राजेनेकाले ल्याउन तयार पार्न आटेको सिएचडिओ एक्स वान इङ्गल्यान्ड र भारतमा दोस्रो र तेस्रो चरणको परीक्षण जारी छ भने भारत र बेलायतमा तेस्रो चरणको परीक्षण पनि सुरु भइसकेको छ ।
युरोपेली युनियनले चार करोड डोजका लागि सम्झौता गरेको छ । सबै कुरा सही भएमा अक्टोबरमा केही डोज युरोपमा पठाइने लक्ष्य रहेको छ । भारतका सेरम इन्स्टिच्युटले परीक्षणकै क्रममा लाखौँ डोज तयार गरिसकेको छ ।
चीनको सिनोफर्म कम्पनीको भ्याक्सिनको लक्ष्य यस वर्षको अन्त्यमा सर्व साधारणमा प्रयोग गर्ने रहेको छ । भारत बायो टेक र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको कोभ्याक्सीन अगस्ट अन्त्यमा सक्ने घोषणा गरिए पनि यसबाट पछि हट्दै वर्षको अन्त्यमा वितरण सुरु गरिने जनाइएको छ । यसै गरी, अस्ट्रेलियाको मुडरोक चिल्ड्रेन रिसर्च इन्सटीच्युटको भ्याक्सिन पनि तेस्रो चरणमा पुगेको छ ।
कोरोना भाइरसको भ्याक्सिन र यसमा हामीले उपयोगको अवसर कहिले पाउने भन्ने अनिश्चित नै छ । तर, विकसित मुलुकले हाल जतिसुकै क्षति बेहोरे पनि अर्को वर्षको सुरुवातबाट आफूलाई पुरानो जीवनमा फर्काउने सम्भावना प्रबल छ । तर,नेपाल जस्तो देशका लागि अप्रिल मे भन्दा अघि कुनै सम्भावना देखिँदैन । त्यो पनि सबै नागरिकमा होइन ।

  • प्रकाशित मिति : भदौ २, २०७७, मंगलवार १४:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८