• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

कोरोना भाइरसको महामारीः नाका व्यवस्थापनमा कहाँ चुक्यो सरकार ?

  • उमाकान्त खनाल

कोरोना भाइरसको महामारीः नाका व्यवस्थापनमा कहाँ चुक्यो सरकार ?

भाद्र–१४,२०७७

झापा–गत चैत ११ गते लकडाउन सुरु हुन अघिदेखि नै भारतबाट नेपालीहरू नेपाल आउन सुरु गरिसकेका थिए । तर, जुन बेला भारतबाट नेपालीहरु आउन सुरु गरे नेपाल–भारतका सीमा क्षेत्रमा एक किसिमको त्रास थियो । कतै ती आउने नेपालीहरूमा कोरोना भाइरसको संक्रमण त छैन ! भारतमा कोरोना भाइरसका संक्रमितहरू दिनहुँ बढ्ने क्रममा थिए भने नेपालमा एकाध जनामा मात्र संक्रमण पुष्टि भएको थियो ।

नेपालीहरू भारतबाट आउन थालेका केही दिन सीमा नाकाहरू अस्तव्यस्त बनेका थिए ।
कोरोना भाइरसबाट संक्रमित बन्नेहरुको संख्या छिमेकी मुलुक भारतमा बढ्दै जाँदा नेपाल–भारत सीमाका काँकरभिट्टा (झापा), रक्सौल (वीरगञ्ज), सुनौली (भैरह्वा) र बनबासा (कञ्चनपुर) गरी चार वटाबाहेक अन्य नाकाहरू बन्द गरिएको घोषणा नेपालले गरेको थियो । तर, बन्द गरिएका नाकाहरूबाट पनि नेपालीहरूको आउने क्रम रोकिएन । विशेषगरि रातको समयमा उनीहरू नेपाल प्रवेश गर्ने गर्थे ।

सीमामा रहेका सुरक्षाकर्मीले भेटेको खण्डमा उनीहरूलाई क्वारेन्टिनमा राख्ने काम गरे । तर, कतिपय लुकेर आएर गाउँरघरमा पसे ।
कतिपय गाउँमा भने गाउँका मानिसले प्रहरीलाई खबर गरेपछि भारत वा अन्य मुलुकबाट आएका मानिसहरूलाई क्वारेन्टिनमा राख्न सहज भयो ।

चार लाख १० हजार नेपाल प्रवेश

लकडाउन भइसकेपछि शुरुका केही दिनसम्म भारतबाट आउने नेपालीलाई सीमामा ज्वरो नाप्ने बाहेक कुनै जाँच गरिएन ।
चैत ११ गते लकडाउन भएयता अहिलेसम्म चार लाख १० हजार नेपाली भारतबाट नेपाल आएका छन्। प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशका नाकाहरू हुँदै त्यतिको संख्यामा नेपाली भारतबाट आएका सरकारी अधिकारीहरूले बताएका छन् ।
प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाका अनुसार लकडाउन सुरु भए यता २२ हजार २ सय ४४ जना नेपाली प्रदेश १ का विभिन्न नाका हुँदै भारतबाट नेपाल आएका हुन् । प्रदेश १ का मुख्य नाकामा इलामको पशुपतिनगर, झापाको काँकरभिट्टा तथा मोरङको विराटनगर हुन् ।

त्यस्तै प्रदेश २ प्रहरी कार्यालयको तथ्यांक अनुसार लकडाउनपछि अहिलेसम्म प्रदेश २ का नाका हुँदै ३१ हजार २ सय ८१ जना नेपाली भारतबाट आएका छन् ।
प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश ५ का नाकाहरू प्रयोग गरेर ९८ हजार ९ सय २३ नेपाली भारतबाट आएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाका नाकाहरूबाट २ लाख ५७ हजार ४ सय २७ जना नेपाली नेपाल प्रवेश गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

ज्वरो नाप्दै पठाउँदै गरियो

सुरुवाति दिनमा अन्य नाका बन्द गरेसँगै खुल्ला रहेका चार नाका हुँदै भारतबाट आउनेहरूलाई ज्वरो नाप्दै नेपाल प्रवेश गराउने काम गरियो । भारत तथा तेस्रा मुलुकहरुबाट आउने सामानका सवारी साधनहरु ह्वात्तै घटेसँगै भन्सारका कर्मचारीलाई समेत भारतबाट नेपाल आउने मानिसहरुको ज्वरो अनिवार्य नाप्नका लागि व्यवस्था मिलाउन खटाइएको थियो ।
काँकरभिट्टा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा बिहानदेखि ज्वरो नाप्ने मान्छेको भीड लाग्ने गरेको थियो । सामान्य एप्रोन, चस्मा र सर्जिकल ग्लोब्स लगाई थर्मल स्क्यानरमार्फत स्वास्थ्यकर्मीहरूले ज्वरो नापिरहेका हुन्थे ।

तर, भारतवाट प्रवेश गर्नेहरु चाहिं अन्य नाकाबाट लुकेर आए । आवागमनका लागि नेपाल–भारतबीच तोकिएका भन्दा अन्य नाकाहरूमार्फत भारतबाट नेपालीहरू लुकीछिपी नेपाल आउने क्रम रोकिएन । विशेषगरि भारतसँग सीमा जोडिएका प्रदेश १ र प्रदेश २ का सीमावर्ती क्षेत्र बढी जोखिममा परे ।

भारतका प्रमुख शहरहरूबाट लुकीछिपी आएका नेपालीलाई दसगजामै प्रहरीले पक्राउ गरेर क्वारेन्टिनमा समेत राख्यो । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार त्यो बेला त्यति सजग नभइदिएको भए स्थिति थप भयावह हुने अवस्था थियो ।
उनले भने, ‘जुन बेला भारतबाट नेपालीहरू आउन सुरु गरिसकेका थिए हामीले सीमामा थप बल थप्नुपर्छ भन्ने लागेर सीमा सुरक्षाका लागि प्रहरीका पोस्टहरू स्थापना गर्ने सुरु गर्यौं ।’
भारतमा रेल सेवा खुलेपछि दिनहुँ मान्छे लुकीछिपी नेपाल प्रवेश गर्न खोजेकाले स्थिति थप जटिल बनेको उनले बताए । क्वारेन्टिनमा राखिएकाहरूको पिसिआर परीक्षण नगरी घर जान दिइएन ।
तर सुदूरपश्चिमका नाकाहरूबाट नेपाल प्रवेश गर्नेहरूको संख्या दैनिक हजारौँ भएपछि नेपाली सीमा क्षेत्रमा बसेका सुरक्षाकर्मीको केही जोड चलेन । नाकाबाट सबैलाई आ–आफ्ना घर जान दिइएको त्यो बेला भारतबाट आएका कैलालीका एक जना १९ वर्षीय युवकले बताए ।

उनी पनि त्यही समूहमा थिए । उनले भने, ‘गौरीफन्टा नाकाबाट म नेपाल प्रवेश गर्दा त्यहाँ रोक्नसक्ने अवस्था थिएन । हामी करिब चार हजार जना थियौँ । घर आएपछि परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ आयो अनि आइसोलेसनमा बसियो ।’ उनी जस्ता हजारौँ परीक्षणबिनै समुदायमा गएको उनले बताए ।

भारतमा ट्रेन चलेपछि समस्या

नेपाल तथा भारतमा शुरु भएको लकडाउनको करिब एक महिनापछि भारतमा ट्रेन चल्न थालेकाले भारतको विभिन्न स्थानबाट नेपालीहरू पूर्वी नेपालको सीमावर्ती बजारहरूमा जम्मा हुन थाले ।
भारतीय सीमामा रहेका नेपालीहरूलाई कसरी व्यवस्थित गरेर राख्ने भन्ने विषयमा धेरै पटक छलफल भए पनि एक महिनासम्म पनि निर्णय हुन सकेन । पूर्वी नाका काँकडभिट्टा र विराटनगरको नाकाहरूमा हजारौँको संख्यामा नेपालीहरू जम्मा भए । त्यसो त नेपालगञ्ज तथा सुदूरपश्चिमका नाकाहरुको समस्या पनि उस्तै रह्यो ।

संघीय सरकारले सीमावर्ती नेपाली भूमिमा क्वारेन्टाइन राख्ने भने पनि पालिकाहरूले उनीहरूलाई राख्नका लागि पर्याप्त क्वारेन्टाइनको निर्माण नै गरेका थिएनन् ।
भारतबाट आएकाहरू सिधै समुदायमा गए कोरोना भाइरसको संक्रमण झन् तीब्र बन्ने विज्ञहरूले त्यतिबेलादेखि नै चेतावनी दिएका थिए ।

भारतमा घर, नेपालमा खेती

नेपालमा जमिन भाडामा लिएर खेती गर्न दिनहुँ नेपाल आउन खोज्ने भारतीय नागरिकहरुका कारण बन्दाबन्दीका बेला सीमा सुरक्षामा चुनौति दिएको थियो ।
अहिले पनि सीमा बन्द छ । तर, नेपालका जमिन भाडामा लिएर खेती गर्नेहरू अहिले पनि नेपाल आउन खोज्दा सीमामा समस्या हुने गरेको छ ।

पूर्वदेखि पश्चिम तराईसम्मका नेपालका सीमावर्ती क्षेत्र नजिकका जमिनमा भारतीय नागरिकले खेती गर्दै आएका छन् । उनीहरु भारतबाटै दिनहुँ नेपाल आएर खेती गर्ने गरेको प्रदेशका कृषि मन्त्रालयहरुले जनाएका छन् ।

तर, नेपालमा जारी बन्दाबन्दीका कारण नेपालमा खेती गर्न आउन खोज्ने उनीहरुलाई सीमाबाटै फर्काइने गरिएकाले कतिपय स्थानमा नेपाली सुरक्षाकर्मीमाथि भारतीय नागरिकबाट दुर्व्यवहारसमेत भयो ।

गत वैशाख २१ गते झापाको कचनकवल गाउँपालिकाको सीमावर्ती क्षेत्रमा नेपालमा खेती गर्न आउन खोज्ने भारतीय नागरिक नेपाल छिर्न नपाएपछि सीमामा विवाद उत्पन्न भएको थियो ।
कचनकवल गाउँपालिकाकै सीमावर्ती क्षेत्रमा त्यसरी नै भारतीय नागरिक नेपाल छिर्न खोज्दा नेपाली सुरक्षाकर्मीले छिर्न नदिएको र भारतीयहरुले खेती गर्दा प्रयोग गरिने हतियार नेपालतिर फाल्दा सुरक्षाकर्मीलाई लागेको घटना पनि छ ।
झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाका अनुसार नेपालमा खेती गर्ने भारतीयहरू नेपाल आउन खोज्नु सीमा सुरक्षाको चुनौतीको विषय बन्न पुगको छ ।
प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहले पनि भारतका केही राज्यमा बन्दाबन्दी खकुलो बनाइदिएकाले नेपाल छिर्न खोज्नेहरुले समस्या उत्पन्न गराइदिएको बताए ।

क्वारेन्टिन बनाउन अलमल

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि भारत तथा नेपालमा जारी बन्दाबन्दीले भारतका सीमा क्षेत्रमा रहेका नेपालीलाई नेपाल ल्याउन करिब डेढ महिना लागेको थियो । पूर्वदेखि पश्चिमसम्म धेरै संख्यामा नेपाल आउन चाहने नेपालीहरु भारतका क्वारेन्टिनस्थलहरुमा डेढ महिनासम्म बस्नुप¥यो ।

पूर्वी सीमा काँकडभिट्टासँग जोडिएको भारतको पानीटेंकी नाकामा पनि ८७ जना नेपालीहरु त्यहाँको क्वारेन्टाइनमा डेढ महिनासम्म बसे । त्यो बेला झापा क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनलगायत केही व्यक्तिहरूको पहलमा रातको समयमा उनीहरूलाई नेपाल ल्याइएको थियो । पानीटेंकीमा कालीकोट, दैलेख, सुर्खेत, बाजुरालगायत जिल्लाका नेपालीहरु थिए ।

भारतीय सीमामा रहेका नेपालीहरुलाई ल्याउन अघि उनीहरुलाई राख्ने स्थान बनाउने अन्यौल भने कायमै थियो । क्वारेन्टिनको व्यवस्था गरिएको थिएन भने गृह मन्त्रालय पनि अलमलमै थियो । यता पश्चिमका सीमावर्ती क्षेत्रबाट महाकाली नदी पौडेर धेरै नेपालीहरु नेपाल आएका विवरणहरु त्यतिवेला सञ्चार माध्यममा आएका थिए ।

सीमामा सुरक्षाकर्मीका पीडा

सीमा क्षेत्रमा बस्ने प्रहरीका लागि कमजोर व्यवस्थापन ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा भारतबाट आउने मानिस नेपाल पस्न नसकुन भनेर सीमामा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी खटाइयो । छुट्टा छुट्टै पोस्ट खडा गरेर सशस्त्र तथा नेपाल प्रहरी सीमामा खटिए ।

उनीहरू नयाँ पोस्ट खडा गरेर नाकामा बसेका बेला पोस्टहरूमा पुग्दा उनीहरूको विजोग देखिएको थियो । पूर्वी नेपालको मेची नदी किनारमा रहेका पोस्टहरूमा पर्याप्त जनशक्ति थिएनन् ।
नेपाल प्रहरीको मेची नदी किनारमा बाँसको टहराको एउटा पोस्टमा पुग्दा दुई जना कनिष्ठ प्रहरी थिए । यहाँसम्म कि उनीहरूका लागि शौचालय थिएन । खाने पिउनेको व्यवस्था त परको कुरा ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार त्योबेला भारतबाट नेपाल आउन खोज्नेलाई रोक्न निकै ठूलो जनशक्ति चाहिने अवस्था थियो ।
खासगरि १, २, ५ र सुदूरपश्चिम प्रदेशका सीमा नाकाहरू भारतसँग जोडिने भएकाले ती नाकाहरूबाट भारतबाट आउनेहरू लुकीछिपी नेपाल प्रवेश गर्ने थालेपछि केही सुरक्षाकर्मी बढाइयो तर त्यो पनि पर्याप्त थिएन ।

बस्तीबाट निकै टाढा रहेका बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई पिउने पानी, विद्युत्, शौचालय, खानालगायतको समस्या थियो । कतिपय स्थानहरूमा ती समस्या अझै पनि छन् । सुदूरपश्चिम प्रदेशका नाकामा रहेका सुरक्षाकर्मीहरुले पिउने पानी र खानाको जोहो गर्न निकै समस्या थियो ।

सीमामा हेलचक्र्याइँ हुँदा समुदायमा संक्रमण

प्रदेश नं २ को वीरगञ्ज महानगरपालिका कोरोना भाइरसको संक्रमणका कारण सुरुका दिनमा सबभन्दा बढी प्रभावित भयो । जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको कोरोना संक्रमणका कारण मृत्यु भयो । उनलाई साउन ६ गते लक्षणसहित कोरोना संक्रमण भेटिएको थियो ।

प्रदेश–२ को आठवटै जिल्लाको सीमा भारतको बिहार राज्यसँग जोडिएको छ । भारतीय राज्य बिहारमा कोरोना भाइरसको संक्रमण निकै तीव्र रूपमा फैलिँदै गएको जाँदा प्रदेश २ का सीमा नाकाबाट हजारौं नेपाली नागरिक भारतबाट आए ।

प्रदेश–२ मा पछिल्लो समय फैलिएको संक्रमणको लहरो पारिबाटै जोडिएको चिकित्सक बताउँछन् । वारिपारि सहज आवत जावत हुने गरेका कारण सीमा जोडिएका जिल्लामा संक्रमण घट्नुको साटो बढिरहेको चिकित्सकहरूको भनाई छ ।
जनस्वास्थ्यविज्ञ डा. विन्ज्वाला श्रेष्ठका अनुसार निश्चित नाकाबाहेक अन्य नाकाबाट मान्छे छिर्नै दिन नहुने हो । उनले भनिन्, ‘निश्चित नाकामा पनि क्वारेन्टिनमा राखी पिसिआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि मात्र घर पठाउनुपर्थ्यो । तर, त्यसो नगर्दा समस्या भयो ।’

दुई देशबीचको सीमा औपचारिक रूपमा बन्द गरिएपनि लुकिछिपी आउजाउ गर्ने नरोकिएका कारण प्रदेश–२ का सीमावर्ती पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा संक्रमण बढ्दै गएको छ । प्रदेशका सबै जिल्लाका प्रायः उद्योगमा भारतीय कामदार रहेकाले संक्रमण बढेको कतिपयले बताउने गरेका छन ्।

प्रदेश सरकारका स्वास्थ्य निर्देशनालयका अनुसार चैतदेखि कोरोना भाइरसका संक्रमित भेटिन थाले । पहिला तेस्रा मुलुकहरूबाट आउनेहरूमा संक्रमण देखिएको थियो भने पछि भारतबाट आएका नेपालीहरू भटाभट संक्रमण पुष्टि हुन थाल्यो ।
भारतबाट आउने नेपालीहरूलाई कोरोना भाइरस संक्रमणको विश्वसनीय पिसिआर परीक्षण नगरि घर पठाउने गरिएकाले अहिले समुदायमा संक्रमण तीब्र बनेको जनस्वास्थ्य विज्ञ डा.श्रेष्ठको भनाई छ । नाकामा गर्नुपर्ने व्यवस्थापन नगरिएकाले समुदायमा कोरोना भाइरसको संक्रमण व्याप्त भएको उनले बताइन् । श्रेष्ठले भनिन्, ‘सबभन्दा पहिला त आरडिटी गर्दै घर पठाउनु गल्ती भयो । त्यसपछि पीसीआर परीक्षण नै नगरि कतिपय मानिस घर गए । अहिले समुदायमा कोरोना भाइरसको संक्रमण बढ्नुको कारण यिनै हुन् ।’

कोरोना संक्रमणको उपचारमा खटिएका चिकित्सक के भन्छन ?
सीमा नाकाबाट निश्चित समयको अन्तरालमा भारतबाट आउने नेपालीलाई प्रवेश गराएर क्वारेन्टिनमा राखेपछि पीसीआर परीक्षण गरेर व्यवस्थापन गर्नुपर्नेमा महिनौंसम्म चुप लागेर बसेर पछि एकै चोटी हजारौँको भीड नेपालले थाम्न नसकेको कोरोना नियन्त्रणका लागि खटिएका चिकित्सकहरू बताउँछन् ।

कोशी अस्पताल विराटनगरको कोभिड उपचार केन्द्रका चिकित्सक डा.डेनप्रसाद आचार्यका अनुसार नेपाल–भारतबीचको नाका पूर्ण रुपमा बन्द गर्न नसकिए पनि निश्चित नाका तोकिदिएर तालिकबद्ध तरिकाले नेपालीलाई छिराएर व्यवस्थापन गर्न सकिने अवस्था थियो ।

डा. आचार्यले भने, ‘नाकाबाट केही स्थानका समुदायमा संक्रमण गयो । लकडाउन खुलेपछि त्यो संक्रमण अस्पतालहरूमा पुग्यो । अनि अस्पतालबाट संक्रमण अझ बढी फैलियो ।’
संक्रामक रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाका अनुसार नेपाललाई भारतबाट आएको संक्रमणले नै अहिलेको अवस्थामा पु¥याएको हो । उनको पनि नाका व्यवस्थित गर्नु पर्ने कुरामा नेपाल चुकेको मत छ ।

उनले भने, ‘नाकाबाट मान्छे लुकेर आएर सोझै घर गए । घरका मान्छेलाई संक्रमित बनाए । अनि बिस्तारै समुदायमा फैलिँदैछ । काठमाडौँमा पनि अधिकांश संक्रमण भारतबाट आएका मानिसहरूले ल्याएका छन् । केही स्थानमा हजामले ल्याए केहीमा निर्माण मजदुरले ।’‘देश सञ्चार’

  • प्रकाशित मिति : भदौ १४, २०७७, आइतवार ०८:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८